Wednesday, December 2

मान्छेकोआत्माको वजन२१ ग्राम ? कसरी जानी राखौ

September 26, 2020 130

प्राचीन मिश्रका बासिन्दाहरुमा एउटा मान्यता थियो कि मृत्युपछि मानिस एउटा लामो यात्रामा निस्किन्छ । मृत्युपछिको उक्त यात्रा निकै कठिन हुन्छ । मिश्र सभ्यताको इतिहासअनुसार उक्त यात्रामा रा भनिने सूर्य देवताको डुंगामा चढेर हल अफ डबल ट्रुथसम्म पुग्नु पर्दछ अरे ।

किम्बदन्तीहरुका अनुसार मान्छेको सत्यता पत्ता लगाउने उक्त हलमा आत्माको लेखाजोखा गरिन्छ र फैसला गरिन्छ । त्यहाँ सत्य र न्यायकी देवीको कलमको तुलना मानिसको आत्मासँग गरिन्छ ।

प्राचीन मिश्रका मानिसहरुमा यस्तो मान्यता थियो कि मानिसका सबै राम्रा तथा नराम्रा कर्महरुको हिसाब उसको आत्मामा लेखिएको हुन्छ । यदि मानिसले सादा र निष्कपट जीवन बितायो भने उसको आत्माको वजन प्वाँखजस्तै कम हुन्छ र उसलाई स्वर्गमा सधैका लागि ठाउँ प्राप्त हुन्छ ।

मिश्रको उक्त प्राचीन मान्यताको एक झलक सन् १९०७ मा जर्नल अफ द अमेरिकन सोसाइटी फर साइकिक रिसर्चमा प्रकाशित एक शोधमा देखिएको थियो ।

हाइपोथेसिस अन द सब्स्टेन्स अफ द सोल अलन्ग विथ एक्सपेरिमेन्टल एभिडेन्स फर द एग्जिस्टेन्स अफ सेड अब्जेक्ट नामको उक्त शोधमा मानिस मरिसकेपछि उसको आत्मा सँग सम्बन्धित प्रयोगका विषयमा चर्चा गरिएको थियो ।

आत्माको वजन

उक्त शोधसँग सम्बन्धित एक लेख न्युयोर्क टाइम्समा मार्च सन् १९०७ मा छापिएको थियो । जसमा प्रष्ट रुपमा लेखिएको थियो कि आत्माको पनि निश्चित वजन हुन्छ भन्ने कुरामा डाक्टरहरु समेत सहमत छन् । त्यसमा डाक्टर डंकन म्याकडगल नामका एकजना डाक्टरको प्रयोगका बारेमा चर्चा गरिएको थियो ।

सन् १८६६ मा स्कटल्याण्डको ग्लास्गोमा जन्मिएका डाक्टर डंकन २० वर्षको उमेरमा अमेरिकाको म्यासाच्यूसेटमा गएका थिए । उनले ह्युस्टन विश्वविद्यालयको स्कूल अफ मेडिसिनबाट आफ्नो पढाइ पूरा गरेका थिए र आफ्नो जीवनको अधिकतम समय हेभरिल सहरको च्यारिटेबल अस्पतालमा मानिसहरुको उपचार गरेर बिताए ।

उक्त अस्पतालका मालिक एक यस्ता व्यापारी थिए जसको व्यापार मुख्यरुपमा चीनसँग थियो । उनले चीनबाट ल्याउने विभिन्न वस्तुहरुमध्ये फेयरब्यांकको एउटा तराजु पनि थियो । उक्त तराजु पहिलोपटक सन् १८३० मा बनाइएको थियो र त्यसले ठूलो वस्तुहरुको समेत सटीक मापन सजिलैसँग गर्न सकिन्थ्यो ।

डाक्टर डंकनले जहाँ काम गर्दथे उक्त अस्पतालमा उनले दैनिक मान्छेको मरण देख्दथे । अस्पतालमा वजन मापनका लागि राखिएको मेसिन देखेर उनको दिमागमा मानिसको आत्माको समेत वजन मापन गर्ने विचार पलायो ।

न्युयोर्क टाइम्समा प्रकाशित लेख अनुसार उक्त घटनाको ६ वर्षपछि त्यसको निष्कर्ष प्रकाशित भयो । अध्ययनका क्रममा डाक्टर डंकनले एउटा निकै हलुका वजनयुक्त फ्रेमको एक विशेष खालको ओछ्यान बनाए जसलाई उनले अस्पतालमा रहेको ठूलो तराजुमा जडान गरे ।

उनले तराजुलाई यसरी तयार पारेका थिए कि त्यसले निकै कम वजन परिवर्तन हुँदा समेत त्यसको मापन गर्न सकिन्थ्यो । गम्भीर विरामी भई बाँच्ने सम्भावना नभएका मानिसहरुलाई त्यस्ता ओछ्यानमा राखिन्थ्यो र उसको मर्ने प्रक्रियालाई नजिकबाट नियालिन्थ्यो ।

त्यसक्रममा शरीरको वजनमा भएको परिवर्तनलाई उनले निरन्तर टिपोट गरे । मरेसँगै मानिसको शरीरमा पानी, रगत, पसिना, मलमुत्र, अक्सिजन र नाइट्रोजनको स्तरमा स्वभाविक रुपमा हुने परिवर्तनलाई समेत ध्यानमा राखेका थिए ।

उक्त शोधका क्रममा उनीसँग चारजना अरु डाक्टरहरुले पनि काम गरेका थिए र सबै जनाले ती आँकडालाई अलग अलग टिपोट गरे ।

डाक्टर डंकनका अनुसार जब मानिसले आफ्नो आखिरी सास लिन्छ, त्यसबेला उसको शरीरबाट आधा वा सवा औँस वजन कम हुन्छ । उनका अनुसार जुनबेला शरीर निस्क्रिय हुन्छ त्यसबेला तराजुको स्केल तीव्र रुपमा तल आउँछ । त्यतिबेला लाग्दछ कि मानिसको शरीरबाट अचानक केही चिज बाहिर निस्किएर गयो ।

डंकनका अनुसार उनले १५ वटा कुकुरमा समेत यस्तो प्रयोग गरे । तर कुकुरमा भने त्यस्तो नतिजा आएन । मृत्युको समयमा कुकुरको शरीरको वजनमा कुनै परिवर्तन भएन ।

त्यसबेला के निष्कर्ष निकालियो भने मृत्युको समयमा मानिसको शरीरको वजनमा परिवर्तन आउँदछ किनकी मानिसको शरीरमा आत्मा हुन्छ र मृत्युपछि त्यो आत्मा शरीरबाट उड्दछ । तर कुकुरको शरीरमा आत्मा नहुने हुनाले मृत्युसँगै उसको वजनमा परिवर्तन आउँदैन ।

६ वर्षसम्म चलेको उक्त अनुसन्धानका क्रममा कूल ६ वटा मानिसमा प्रयोग गरिएको थियो । तर दुईजना मानिसको मृत्युका बेला तराजु राम्रोसँग नमिलेको भन्दै केवल चारजनाको मात्र डाटालाई समावेस गरियो ।

उक्त शोधका आधारमा अहिले पनि यस्तो मान्यता राखिन्छ कि मानिसको आत्माको वजन ठ्याक्कै तीन चौथाई औँस अर्थात् २१ ग्राम हुन्छ । किनकी शोधमा संलग्न चारजना मानिसको डाटामध्ये पहिलो मानिसको शरीरमा मृत्युसँगै ठ्याक्कै २१ ग्राम तौल कम भएको पाइएको थियो।#onlinekhabar

प्रतिकृया दिनुहोस्